दश अवतार

भुवनेश्वर भण्डारी

हिन्दु ग्रन्थहरुमा भगवानका अवतारहरुको बर्णन गरेको पाइन्छ । सृष्टीको क्रममा हिन्दु समाजमा जबजब अन्याय र अत्याचार बढ्दछ तबतब धर्मको स्थापना गर्न भगवानले दुष्टहरुको बिनाश गरेको उल्लेख छ । "यदा यदाहि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ ७ ॥ परित्राणाय सधुनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सं भवामि युगे युगे" ॥ ८ ॥ (गीता अध्याय चार) अर्थात् जब धर्मको पतन र अधर्मको उदय हुन्छ तब धर्मको रक्षार्थ त्यसै समाजमा भगवानको अबतार हुन्छ र दुष्टको संहार र साधुहरुको रक्षा भगवानबाटै हुन्छ । गीता दर्शन अनुसार आबश्यकता अनुरुपको अबतार लिएर भगवानले धर्मको रक्षा गरेको श्रीमद्भागत महापुराणमा पाइन्छ । अबतारका नामहरुमा "मत्स्यः कुर्मो बराहश्च नारिसंहश्च बामनः ॥ रामो रामश्च कृष्णश्च बौद्धः कल्किस्तथैवच" अर्थात सबैभन्दा पहिले माछो (जलचर), कछुवा (उभयचर), बदेल (जंगलको जनावर), नृसिंह (जनावर र मानिस), बामन (पुड्को मानिस), पर्शुराम (बन्चरो लिने ऋषिपुत्र), राम (आदर्श राजा), कृष्ण (चमत्कारी पुरुष), बौद्ध (तपस्वी राजा) तथा कल्कि (संहारकारी बलबान पुरुष) को अवतार समेत गरी दश अवतार मानिएका छन् । यी अबतारहरुको जीब बिकाशको क्रममा क्रमिक अवस्था भएको पाइन्छ र यसै क्रमलाई पाश्चात्य जीब बिज्ञानका बैज्ञानिकहरुले बादरबाट बिकशित भएर मानिस भएको अड्कल गरेका छन् भने पूर्बिय दर्शनमा मानिस देबताबाट दानब हुँदै बादर बन्न जाँदैछ भन्ने गुनासो पोखेको पाइन्छ । मानिसका पूर्खा बनमान्छे पनि नभएको प्रमाणित भइसकेको छ ।

१. मतस्य अवतार- भगवानले प्रलयकालमा सिंग भएको माछाको अबतार लिएर सम्पुर्ण बीजहरुलाई डुंगामा राखी ऋषिहरुको र संसारमा भएका सबै बीजहरुको रक्षा गरेको तथा शंखासुर नाम भएको दानबको उद्धार गरेको बर्णन मत्स्य पुराणमा पाइन्छ ।

२. कुर्म अवतार- पृथ्बिीका सम्पूर्ण सारभूत तत्वहरु समुद्रमा दबिएका समयमा प्राणीहरुको रक्षार्थ देबता र दानबहरु मिलेर समुद्र मन्थन गर्दा मदानी बनाएको मन्दराचल पर्बत समुद्रमा डुबेकोले भगवानले कछुवाको अबतार लिएर आफ्नो पीठमा मदानी बोकी मन्थन कार्यबाट जीबनोपयोगी अमृत लगायतका तत्वहरु समुद्रबाट निकाली प्राणीहरुको कल्याण गरेका कुराको बर्णन कुर्मपुराणमा पाइन्छ ।

३. बराह अवतार- कस्यप ऋषि र दितीका बलबान छोरा हिरण्याक्ष दानवले बेद र पृथ्बिीलाई नै नष्ट गर्न लाग्दा ब्रह्माले हाच्छ्उँ गरेको अबस्थामा सुक्ष्म रुपले नाकबाट निस्किएर डरलाग्दो बदेलको अवतार भगवानले लिएको थियो । सेतो बदेलको रुपले समुद्रमा पसेर दैत्य हिरण्याक्षलाई उद्धार गरेर जीवहरुको रक्षा र ज्ञानको भण्डार रहेको बेदको संरक्षण भगवानको बराह अवतारबाट भएको बर्णन बराहपुराणमा बिस्त्रित रुपमा पाइन्छ । बर्तमान कल्पलाई श्वेतबाराह कल्प मानिएको छ ।

४. नृसिंह अवतार- हिरण्याक्षको दाजु हिरण्यकस्यपुका छोरा कान्छा प्रह्लाद नाम गरेका भगवानका परम भक्त थिए । भगवानको संधै बिरोध गर्ने हिरण्यकस्यपुले हरिभजनमा लागेका प्रह्लादलाई भगवानबाट बिमुख पार्न धेरै प्रकारका यातना दिएको थियो । भीरबाट लडाउने समुद्रमा फाल्ने आगोमा डढाउने आदि कठोर यातनाबाट पनि प्रह्लादको मृत्यु नभएपछि आफैं हिरण्यकस्यपुले छोरो मार्न आँटेको समयमा खम्बाबाट नृसिंह भगवान प्रकट भई दुष्ट दानब हिरण्यकस्यपुको उद्धार गरेर भक्त प्रह्लादको रक्षा नृसिंह अबतारमा गरिएको कुरा श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दमा बर्णन गरिएको पाइन्छ ।

५. बामन अवतार- प्रह्लादका नाति बलि राजाले अत्यधिक दान गर्नाले तिनैलोकको राज्य पाएका थिए । आफु बलि राजा धार्मिक भएता पनि अरु दानबहरुको स्वभाब दानबी नै भएकोले देबताहरुको यज्ञभाग मासियो र पृथ्बिीमा अधर्म फैलिएकोले कस्यप र अदितीका पुत्र भएर बामन अबतारमा भगवानले छलले तीन पाऊ जमिन दान लिएका थिए । बिराटरुप लिएका भगवानले दुई पाउले स्वर्ग र मत्र्यलोक ढाकी तेस्रो पाउ बलिका शीरमा राखेर रसातलमा बलिलाई पठाई दान गरेको पुण्यको फल बलिलाई उपलब्ध गराउन बलिराजाका ढोकामा द्वारपाल भएर चार महिना सुतल लोकमा भगवान सुत्नु भएका कुराको ब्याख्यान बामनपुराणमा पाइन्छ ।

६. पर्शुराम अवतार- जमदग्नि ऋषिका कान्छा छोरा बन्चरोधारी पर्शुराम बनेर ब्राह्मणका शत्रु बनेका कार्तबीर्य राजाका दरसन्तानहरुको बिनाश गर्न एक्काइस पटक सम्म पृथ्बिी घुमी घुमी बन्चराले कतल गर्ने पर्शुराम अबतारको बर्णन भागवतको अष्टम स्कन्दमा पाइन्छ ।

७. राम अवतार- मर्यादा पुरुषोत्तम रामचन्द्रको अवतारमा अति बलवान पुलस्त्य ऋषिको नाति राक्षशी मतको रावणको बिनाश गरी भक्त बिभिषणको रक्षागर्न र भ्रातृ प्रेम तथा पत्नीब्रत धर्मका अनुयायी राजा रामलाई परब्रह्म परमात्माको अबतार भएको कुराको पुष्टी रामायणका आठै वटा काण्डहरुले गरेका छन् ।

८. कृष्ण अवतार- देबकी र वासुदेबका छोरा र नन्दलाला बनेर कंसादि दुष्टहरुको संहार र साधुजनको कल्याण गर्ने चमत्कारी पुरुषको रुपमा कृष्णावतारलाई मानिएको छ । कृष्णको अवतारमा भएको लीलाको बिस्तृत बर्णन श्रीमद्भागवत महापुरणका दश र एघार स्कन्दमा एकसय एक्काइस अध्यायहरुले बर्णन गरेका छन् ।

९. बुद्ध अवतार- तपस्वी सिद्धार्थ गौतमले तपस्याबाट निर्बाण प्राप्त गरी अिहंसा परमोधर्म भन्ने बौद्धधर्मको सिद्धान्तको प्रचार प्रसार गरी मानब कल्याणमा लागेको हुँदा सिद्धार्थ गौतमलाई भगवानको अवतार मानिएको छ ।

१०. कल्कि अवतार- कलिधर्मबाट अधोगतिमा लागेको समाजको उत्थान गर्न बिग्रेको धर्मलाई नाशगरी सद्धर्मको प्रतिपालन गर्नका लागि बिष्णुयश नाम गरेका ब्रह्मणको घरमा कल्कि अवतार लिएर द्रुतगामी देवदत्त नामको घोडामा चढी साधुजनको रक्षा र दुष्टजनको संहार गर्नेछन् भन्ने बर्णन श्रीमद्भागवत महापुरणको द्वादश स्कन्धको दोश्रो अध्यायमा पाइन्छ ।






Email:- emandir@gmail.com
Website:- www.emandir.com
मुख्यपृष्ठ