पान्चायन देवता

भुवनेश्वर भण्डारी

वैदिक सनातन हिन्दु धर्ममा नित्यपूजा तथा आराधना गरिने देवतालाई पान्चायन देवता भनिन्छ । पान्चायन देवतामा पाँचवटा देवताहरुको समुह पर्दछन् । १.गणपति २.सूर्य ३.देवी ४.शिव ५.विष्णु यी पाँचैवटा देवताहरुको बर्णन निम्न बमोजिम छ ।

१. गणपति देवता- संस्कृत भाषामा गणको शाब्दिक अर्थ प्राणीहरु हुन्छ । सम्पूर्ण प्राणीहरुका मालिक परब्रह्मलाई गणपति मानिएको छ । गणपति देवता सबै प्राणीहरुका रक्षक पनि हुन् । गणेशको प्रार्थनामा भनिएको छ "रक्ष रक्ष गणाध्यक्ष रक्ष त्रैलोक्यरक्षक ॥ भक्तानामभयंकर्ता त्राता भव भवार्णवात् ॥" अर्थात् हे गणपति तीनै लोकका रक्षागने्र, भक्तहरुको लागि अभय दिने हॆ भगवान भयरुपी संसारबाट प्राणीहरुलाई पार गर । त्यसै गरी "बक्रतुण्ड महाकाय कोटीसूर्यसमप्रभ ॥ निर्बिघ्नं कुरुमे देब प्रसन्नो भव सर्बदा ॥" अर्थात् बांगो मुख भएका ठूलो शरीर भएका करोडौं सूर्यको जस्तो तेज भएका हे गणपति देवता संधैभरी मेरा बाधा अड्चनहरु ह्टाई खुसी भइदिनुहोस् । नेपालीमा पनि यसप्रकारको स्तुति गरिएको छ "हे गौरी सुत हे प्रभो गणपति हे अष्ठसिद्धि पते हे स्वामी गजबक्त्र हे गुणनिधान हे ऋद्धिबुद्धि पते ॥ हे लम्बोदर एकदन्त बिजुली झैं क्या चलाख लेखने सारा दुःख सबै बढारी दिनुहोस सबका उपर दुःख्दिने ॥" गणपति देवताले सबै प्राणीहरुको दुःख र बाधाअर्चन हटाएकाछन् ।

२. सूर्यनारायण देवता- सबै प्रणीहरुका प्रत्यक्ष कल्याणकारी देखिने सूर्य देवताको तातो र प्रकाश बिना प्राणीहरु स्वस्थ्य रहन सक्दैनन् । त्यसैले लोकका प्राणीहरुको रक्षा गर्ने आदि देतिाको रुपमा सूर्यलाई मानेर हिन्दु संस्कारले यसप्रकारबाट स्तुति गरेको पाइन्छ । "हे राजा ग्रहका पिताजी यमका हे अन्धकारका अरी हे छाया पति हे शनिश्चर पिता को छन् हजुरका सरी ॥ हे श्रीसूर्य जगतभरी घुमीघुमी सबको बिचार गर्दिने सारा रोगहरु बिनाश गरिदिनोस हाम्रा उपर दुःख दिने ॥" रोग र अन्धकारको नाश गर्नमा भगवान सूर्य बाहेक अर्को देवता छैनन् भन्ने कुरा यथार्थ छ ।

३.देबी- देबीको बयान श्रीमद्भागवत महापुराणको दशम स्कन्दको दोश्रो अध्यायको ११ र १२ श्लोकमा भगवान विष्णुले यसरी बताउनु भएको छ "दुर्गेति भद्रकालीति बिजया बैष्णवीति च ॥ कुमुदा चण्डिका कृष्णा माधबी कन्यकेतिच ॥ माया नारायणीशानी शारदेत्यम्बिकेति च ॥" अर्थात देबीका नामहरु दुर्गा, भद्रकाली, बिजया, बैष्णवी, कुमुदा, चण्डिका, कृष्णा, माधवी, कन्यका, माया, नारायणी, ईशानी, शारदा तथा अम्बिका आदि गरिएका छन् । नेपालीमा पनि "हे देबी दुःख नाशिनी भगवती हे बिष्णुमाया रमा हे नारायणी शारदे गिरिसुते दृष्टि दिनुहोस ममा ॥ हे दुर्गे सब देबताकी जननी हे आद्यशक्ति मता पाउ पर्छु मलाई सिद्धि दिनुहोस सेबक हुँ जाउँ कता ॥" साधकको ईच्छा पुरा गरिदिने आदिशक्ति माता देबीलाई देबता मानिएको छ ।

४.शिव- शिवजीको स्तुतिबाट शिवशक्तिको महत्व दसा्रएको पाइन्छ । जस्तोः "कर्पुर गौरं करुणाबतारं सन्सारसारं भुजगेन्द्रहारं सदाबसन्तं हृदयार बिन्दे भवं भवानी सहितं नमामि ॥" अर्थात कपुर जस्तै गोरो भएका, प्राणीहरुको कल्याण गर्न, अवतार लिने भएका, विश्व जगतैका सार भएका, सर्पका गहना लगाएका, सबै प्राणीहरुका हृदयमा सधा सर्बदा बास गर्ने भएका यस्ता पार्बती सहितका शिवजीलाई नमस्कार गर्दछु । त्यस्तै नेपालीमा "हे शम्भु शिब हे सती पति सदा शीरमाथि गंगा लिने योगी हे हरिभक्त भक्तहरुका सन्ताप सबनाशने ॥ हे शीरमा शशि लाउने मृग हुने तीन नेत्रले शोभिने हे निर्बाण अनन्त सेबक महु ज्ञान बक्सियोस बीर हुने ।"

५.विष्णु- विष्णु देवताको सहस्रनाम छन् र विष्णुलाई ब्रह्माण्डकै नायक मानिएको छ । विष्णुको रुपको बयान यस्तो छ "सशंखचक्रं सकिरीटकुण्डलं सपीतबस्रं सरसीरुहेक्षणम् ॥ सहार बक्षःस्थलकौस्तुभश्रियं नमामि बिष्णुं शिरसा चतुर्भुजम् ॥" अर्थात शंख चक्र हातमा लिएका, कानमा कुण्डल लगाएका, पहेंलो लुगा लगाएका, अति शोभायमान भएका, छातीमा अक्षयमाला पहिरेका, कौस्तुभ मणिको शोभा झल्केका, चारहात भएका यस्ता बिष्णु भगवानलाई शिर निहुराएर नमस्कार गर्दछु । नेपाली श्लोकमा "हे बिष्णु करुणानिधान हरघडि लक्ष्मी सगैमा लिने हे बिश्वम्बरहे हरि नरहरि हेभक्तिले देखिने ॥ हे राधा पति रक्मिणी पति प्रभु हे जानकीका पति सबका दुःख जतिै बढारी दिनुहोस बक्सिस मिलोस सुख जति ॥"






Email:- emandir@gmail.com
Website:- www.emandir.com
मुख्यपृष्ठ