Special
Send Articles-phoolbari.com@gmail.com
                 




बाल-विवाहका कारण र परिणाम
नवलकिशोर यादव

बाल-विवाह र दाइजो प्रथा नेपालको तराई क्षेत्रमा ज्यादा देखिन्छ । यो प्रथा उच्च जातीय समुदायमा भन्दा तल्लो जातका भनिने मुसहर, चमार, डोम, यादव, मुस्लिम जस्ता समुदायमा बढी पाइन्छ । सबैभन्दा ज्यादा बाल-विवाहको प्रचलन मुसहर र डोम समुदायमा पाइएको छ ।

अध्ययन क्षेत्रका ४५ प्रतिशत अभिभावकहरूले आˆना नानीहरूलाई ९ देखि १२ वर्षको उमेरमा विवाह गरिदिएका छन् । त्यसो त नेपाल विश्वका बालविवाह गर्ने प्रमुख देशमध्ये पर्दछ । दक्षिण एसियामा नेपालको बाल-विवाह र प्रजनन स्वास्थ्यका कारण मातृमृत्युदर बढी छ । नेपालमा भने धनुषा जिल्ला बाल-विवाह बढी हुने जिल्लाहरूमा नवौं स्थानमा पर्दछ । नेपालमा हुने वाषिर्क बाल-विवाहको ९.४ प्रतिशत धनुषा जिल्लामा हुने गर्छ ।

बाल-विवाह गरिदिँदा बालबालिका शिक्षाबाट बञ्चित हुनपुगेका छन् । अध्ययन गरिएका बालविवाहितमध्ये ५६ प्रतिशत निरक्षर र केवल ८ प्रतिशतमात्रै साक्षर थिए । त्यसमा पनि १२ प्रतिशत १ देखि ५ कक्षासम्म पढेका, १४ प्रतिशत ६ देखि १० कक्षासम्म पढेका र १० प्रतिशत एस.एल.सी.सम्म पढेका थिए । अध्ययन क्षेत्रका ३२ प्रतिशत अभिभावकहरूले मात्रै आˆना नानीहरूलाई विद्यालय पठाएका छन् । तर घरायसी काम, छिटो विवाह गरिदिने संस्कार र उनीहरूमा विभिन्न समस्याका प्रभावस्वरूप पढाइप्रति नै अरुचि उत्पन्न भएकालेे पनि बालबालिकाहरू विद्यालय गएका थिएनन् र उनीहरूका अभिभावकले पनि विद्यालय पठाएका थिएनन् ।

सबैभन्दा बढी अर्थात् ५८ प्रतिशत अभिभावकहरूले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको बाल-विवाह गरेको देखिन्छ । त्यसपछि क्रमशः परम्परागत विश्वास र सोचाइ तथा दहेजका कारण बाल-विवाह हुने गरेको देखिन्छ । छोरीको बालविवाहको हकमा भने -दाइजो) प्रमुख कारण देखिएको छ । दहेजपछि परम्परागत विश्वास तथा धारणा, गरिबी र विभेदका कारणले छोरीको बाल-विवाह भएको देखिन्छ ।

बाल-विवाहको घटनापछि ८० प्रतिशत बालबालिकाहरूले श्रीमान्का घरमा स्वच्छ र पर्याप्त खाना र हेरचाह पाएका देखिंदैनन् । यही कारणले बाल-विवाह गर्नेहरू बिभिन्न शारीरिक तथा मानसिक रोगको शिकार भएका पाइन्छन् । यसबाट पनि बाल-विवाहबाट हुने परिणामको आकलन गर्नसकिन्छ ।

बाल-विवाहका पक्षधर उत्तरदाताहरू १२ बर्षको उमेरपछि नै छोराछोरी विवाहका लागि परिपक्व हुने ठान्छन् । बाल-विवाहको फलस्वरूप केटीहरू बच्चैमा आमा हुन्छन् । उनीहरूले आˆनो प्यारो र महत्त्वपूर्ण समयको रूपमा रहेको बाल्यकाल अनाहकमा गुमाउँछन् । शतप्रतिशत उत्तरदाता बालबालिकाले विवाहपछि आफू साथीसँग खेल्न नपाउने, अझ साथी र परिवारका सदस्यसँग भेट्न पनि असहज अनुभव हुनेगरेको बताए । यति मात्र होइन, उनीहरूले बालविवाहपछि स्वास्थ्य र शिक्षाको अधिकारसमेत गुमाउँछन् । उनीहरू घरमा विभेदको र घरेलु हिंसाको सिकार हुनुपुग्छन् । त्यस बाहेक बालविवाहमा आमा-शिशुको मृत्युदर उच्च हुन्छ ।

अध्ययन क्षेत्रमा बाल-विवाहले सामाजिक मान्यता पाएको देखिन्छ तर सकारात्मक कुरो के भएको छ भने बाल-विवाहको विपक्षमा पनि जनमत तयार बन्दै गएको देखिन्छ । बाल-विवाहका विरुद्धमा रहेकाहरूले त्यो उमेर विवाहका लागि अनुपयुक्त भएको, विवाहपछि बालवालिकाको पढाइ बिग्रने, बिरामी हुने, छिटो विवाह गर्दा छिटो बच्चा जन्मने, बालबालिकाको मानसिक शक्तिको विकास नहुने आदि जस्ता नकारात्मक पक्ष बताएका थिए । उता बालबालिका स्वयम् भने पढाइ सकेर मात्र विवाह गर्नु उपयुक्त हो भन्थे । उनीहरूका अनुसार छिटो विवाह गरे आˆनो खुट्टामा उभिन नसक्ने, मानसिक रूपमा विवाहका लागि तयार भएको नहुने, घरायसी खर्च बढ्ने, मानसिक यातना बढी हुने, सानै उमेरमा बच्चा जन्मिने, बच्चा र आमाको मृत्युसमेत हुनसक्ने जस्ता बिभिन्न समस्या भोग्नुपर्ने हुनजान्छ । उता सुत्केरी भएमा बच्चा जन्माउन पनि गार्हो हुने, घरपरिवारबाट सहयोगी ब्यबहार नहुने, मानसिक विकासको कमी हुने, नयाँ जन्मेको बच्चा बारम्वार बिरामीका साथसाथ सुस्त मनस्थितिको हुनसक्ने, आमालाई कामको बोझ हुने, जीवन बरबाद हुनसक्ने, यौनांगलाई हानी हुनसक्ने र परिवार चलाउन गार्हो हुने भन्ने पनि उनीहरूको धारणा थियो । त्यस्तै उनीहरू कम उमेरमा विवाह गर्नु कानुनी अपराधको रूपमा पनि लिन्थे । उनीहरू बालविवाहले शारीरिक समस्या आउने, शरीर कमजोर हुने, घरायसी समस्या बढ्ने, आर्थिक समस्या बढ्ने भएकाले कम उमेरमा विवाह गर्नु हुँदैन भन्थे । अचम्म के भने ९४ प्रतिशत उत्तरदाता बाल-विवाहको बिपक्षमा हुँदाहुँदै अध्ययन क्षेत्रमा भने बाल-विवाह अझ बढ्दो देखिन्छ ।

बाल-विवाहका पक्षकाहरूको विचारमा विवाहपछि प्राप्त हुने दहेजको पैसाले छोराले पैसा कमाउन विदेश जान पाउने, कम्तिमा बच्चा पाउने, घरपरिवारको व्यवस्था राम्रो बन्दै जाने भनेर बताए । बाल-विवाह नगरी छोराको ढिलो विवाह गरेमा छोराका लागि उपयुक्त केटी र उपयुक्त ज्वाइँ नपाउने सोचले पनि बाल-विवाह भएको देखिन्छ । मेरो अध्ययनबाट कतिपय उत्तरदाताहरूले बाल-विवाहलाई आˆनो अभिन्न मूल्यमान्यता र संस्कृतिका रूपमा मानेको पाइएको छ । छोराको बालविवाह गर्नपर्नुको कारणका हकमा मुख्य रूपमा घरायसी काम गर्न समस्या भएकाले छोराको बेलैमा विवाह गरेमा बिना ज्याला काम गर्ने कामदारको रूपमा बुहारी भित्रिने सोचले काम गरेको देखिन्छ ।

बाल-विवाह गरेकामध्ये २० प्रतिशतले बच्चा जन्माइसकेका र ४० प्रतिशत गर्ववती थिए । त्यसरी बाल-विवाह गरेका १० प्रतिशत विवाहित नानीहरूसँग मात्रै विवाह दर्ता प्रमाणपत्र थियो ।

अध्ययन क्षेत्रमा अधिकांश अर्थात ८८ प्रतिशत किसान पाइएका छन् भने ८ प्रतिशत ब्यापारी, २ प्रतिशत सेवा क्षेत्र र २ प्रतिशत बेरोजगार पाइएका छन् । प्रायः परिवारमा एकजनाको आयमा अन्य सदस्यहरू आश्रति छन् । १२ प्रतिशत ३ महिनासम्म खान नपुग्ने छन् । यसमा कम जमीन र वस्तुभाउ भएका दलितहरू पर्दछन् । अतः यस अध्ययनअनुसार बाल-विवाहसँग आर्थिक हैसियतको प्रत्यक्ष सम्बन्ध देखिन्छ ।

समुदायमा छोरी हुर्के खर्च बढी हुन्छ भन्ने धारणा ब्याप्त छ । छोराको विहेमा कम्तिमा २५ हजारदेखि ९० हजारसम्म खर्च लाग्ने र छोरीको विवाहमा भने दहेज र विवाह खर्च गरी कम्तिमा २ लाख खर्च हुने देखिन्छ । यसको तात्पर्य छोराको तुलनामा छोरीको विहेमा धेरै खर्च गर्नुपर्ने भएकाले समुदायले छोरीलाई बोझको रूपमा लिएको र यसबाट जोगिन अभिभावकहरू छोरीको विहे चाँडै गर्न हतारिएका देखिन्छन् । परिणामस्वरूप बिशेषगरी छोराको भन्दा छोरीको धेरै बालविवाह भएको देखिन्छ । पितृसत्तात्मक समाजले महिलाको गतिशिलतामा कमी ल्याएको देखिन्छ । यसबाट पनि छोरीको बाल-विवाह ज्यादा हुने गरेको देखिन्छ ।

बिशेषगरी समुदायको परम्परागत संस्कृति र विश्वासले बाल-विवाहलाई निरन्तरता दिइरहेको देखिन्छ । प्राय अभिभावकले परम्परागत सोचका कारण विवाह गर्नुअघि नानीहरूसँग एक वचन पनि सोध्दैनन् । विवाह हुने केटाकेटीहरू पनि विवाहअघि भेट्दैनन् । अध्ययन क्षेत्रका केवल १८ प्रतिशत अभिभावकले मात्र आˆना छोराछोरीसँग बिहेभन्दा अघि उनीहरूको इच्छा बुझेका थिए ।

समग्रमा हेर्दा बाल-विवाह हुनुको पछाडि केही सामाजिक-सांस्कृतिक, केही आर्थिक र व्यवहारिक कारणहरू छन् । ढिलो विवाह गर्दा अथवा उमेर पुगेर गर्दा दहेज धेरै दिनुपर्ने अथवा विवाहमा धेरै खर्च हुने र ब्यवहारिक रूपमा ढिलो विवाह हुँदा उपयुक्त वर-वधु नपाउने धारणा ब्याप्त देखिन्छ ।

उन्मूलनका उपायहरू
मेरो अध्ययनले के देखाएको छ भने बाल-विवाहको उन्मूलन गर्न विशेषगरी केटीहरूलाई सशक्तिकरण गर्नुपर्छ । सशक्तिकरणको फलस्वरूप अध्ययन क्षेत्रकी कमली सदाले ९ कक्षामा पढ्दापढ्दै परिवारले उनको विवाह गर्ने गरेको निर्णयलाई विद्यालयका शिक्षकहरूको सहयोगमा तोकिएको विवाह खारेज गराई पढाइलाई निरन्तरता दिन सकिन् । विद्यालयका शिक्षक र अन्य अभिभावकले सम्झाइ बुझाइ गर्दा उनका बाबुले आˆनो गल्ती स्वीकारे र आफूले दैनिक पिउने चुरोटको संख्या घटाएर छोरी पढाउँने बाचा पनि गरे । यस घटनाले अभिभावकको इच्छा शक्ति भए छोरीको शिक्षादीक्षा पनि पूरा गर्न सकिने र बालविवाह पनि घट्ने देखाएको छ ।

बाल-विवाह बालअधिकार, महिला अधिकार, मानव अधिकार र विकासको बाधक हो । बाल-विवाह पुराना परम्परागत संस्कृति र जातिय व्यबस्थासँग जोडिएकाले सर्बप्रथम त्यस्ता संस्कृति र जातिय व्यवस्थालाई बदल्नुपर्छ । समुदायका मानिसहरूले सामाजिक मूल्य, इज्जतका कारण वाल-विवाहबिरुद्ध बोल्नसकेका छैनन् , बाल-विवाहबिरुद्धका उजुरीहरू दर्ता भएका छैनन् । खराब राजनीतिक अबस्थाका कारणले पनि बाल-विवाह बिरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन । बाल-विवाह गैरकानुनी भएको र यसबाट बालबालिकालेे शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउन पर्ने हुँदाहुँदै यस्तो गलत परिपाटीका विरुद्ध संगठित आवाज नउठेको देखिन्छ । तसर्थ यि सबै पक्षहरूलाई विचार गर्दै यस अध्ययनको आधारमा धनुषा जिल्लालगायत तराई-मधेश क्षेत्रको महत्वपूर्ण समस्याको रूपमा रहेको बाल-विवाहको समस्या समाधानका लागि निम्न सिफारीशहरू अघि सारिएको छ :

- अनुसन्धानकर्ता यादवले वाल-विवाहको अवस्था पत्ता लगाउने, बालविवाहले स्वास्थ्य, शिक्षा, आम्दानी र परिवारको आकारमा पार्ने प्रभाव विश्लेषण गर्ने र नीति तथा कार्यक्रम निर्माता, अनुसन्धानकर्ताका साथसाथै कार्यान्वयनकर्ताका लागि उपयुक्त सुझाव दिने उद्देश्यले धनुषा जिल्लाको धनुषाधाम गाबिसमा केन्दि्रत रही यो अध्ययन गर्नु भएको थियो । )

अनुसन्धानकर्ता यादवले सामाजिक समावेशीकरण अनुसन्धान कोषका लागि गर्नुभएको अनुसन्धान प्रतिवेदनमा आधारित यो लेख नेपालीमा राजकुमार वरालले तयार पार्नुभएको हो ।

स्रोत : www.gorkhapatra.org.np








Thank You
Home Page
Send Comments
phoolbari.com@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements